पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी पोखरा २१ ले महानगरपालिकाको कार्यालयले वडा नं. २१ को काशघारी क्षेत्रमा फोहर व्यवस्थापन गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत वडा कमिटीले महानगरपालिकाले वैज्ञानिक अध्ययन र पर्याप्त परामर्शबिना निर्णय गर्न खोजेको आरोप लगाएको हो ।
विज्ञप्तिमा पोखरा महानगरपालिका ३३ वटै वडाको साझा संरचना भएको उल्लेख गर्दै सम्पूर्ण महानगरको फोहर व्यवस्थापनको दायित्व एउटै वडाको भूगोलमा थोपर्ने कार्य न्यायोचित, व्यवहारिक र वैज्ञानिक दृष्टिले उपयुक्त नहुने जनाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन, जनस्वास्थ्यको संवेदनशीलता तथा दीर्घकालीन असरबारे बेवास्ता गरिएको भन्दै यस्तो निर्णय गैरजिम्मेवार र निकृष्ट कार्य भएको एमालेको ठहर छ ।
पोखरा महानगरपालिकाले वडा २१का स्थानीयसँग कुनै पनि सल्लाह नगरिकन फोहर थोपर्ने काम भएको एमाले वडा कमिटी २१का अध्यक्ष राजेन्द्र थापाले अग्नि पोष्टलाई बताए ।
एमाले वडा कमिटीका अनुसार वडा नं. २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन, बस्ती संरचना तथा जैविक विविधताका हिसाबले संवेदनशील क्षेत्र हो । यहाँ अवैज्ञानिक ढंगले फोहर फाल्ने निर्णयले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको दाबी गरिएको छ ।
एकतर्फी र अलोकतान्त्रिक निर्णय तत्काल रोक्न, वातावरणीय तथा प्राविधिक अध्ययनसहित सबै सरोकारवालासँग छलफल गरी दिगो र वैज्ञानिक समाधान खोज्न महानगरपालिकासँग जोडदार माग गरिएको छ । यदि निर्णयमा तत्काल पुनर्विचार नगरिए स्थानीय जनताको भावना र अधिकारको रक्षा गर्न आवश्यक आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
जनस्वास्थ्य, वातावरण संरक्षण र दिगो विकासप्रति प्रतिबद्ध रहँदै जिम्मेवार निर्णय गर्न सम्बन्धित निकायलाई एमाले वडा कमिटीले पुनः आग्रह गरेको छ ।
