पोखरा । सुनका गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतबार अपराह्न ४:४५ बजे चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट दुई जनालाई चोरीका सामानसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ घर भई हाल कीर्तिपुर–४ चम्पादेवी बसपार्क बस्ने २६ वर्षीय भुवन प्रधान र जिल्ला रामेछाप मन्थली नगरपालिका–८ घर भई ऐ. बस्ने १९ वर्षीया सुनिता बस्याल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद एक लाख अठचालीस हजार चार सय उनन्चास रुपैयाँ सहित विभिन्न सुन–चाँदीका गरगहना बरामद गरेको जनाएको छ । बरामद सामानमा चाँदीको ब्रास्लेट १ थान, सुनको टप १ जोर, सानो तिलहरी १ थान, लकेट चोकर १ थान, सिक्री ३ थान, औंठी २ थान, माईली तिलहरी (पोते काटेको) १ थान, माईली तिलहरी (पोते सहित) १ थान, नौगेडी १ थान, मोबाइल ३ थान तथा पगालेको सुनको डल्लो जस्तो देखिने वस्तु १ थान रहेका छन् ।
यसैगरी बा.प्र. ०२–०३६ प ६७६५ नम्बरको केटीएम ड्युक (KTM DUKE) मोटरसाइकलसमेत उनीहरूबाट प्रहरीले बरामद गरेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।