पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ तथा निर्वाचन आयोगको प्रेस विज्ञप्ति र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम फागुन १५ गते राति १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म उक्त प्रतिबन्ध लागू हुने सूचनामा उल्लेख छ ।
प्रशासनले निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल तथा मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र सर्वसाधारणलाई पूर्ण सहयोग गर्न आग्रह गरेको छ ।
सूचनाको कार्यान्वयनका लागि सुरक्षा निकायबाट अनुगमन र निगरानी हुने जनाउँदै उल्लंघन भए प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।