निर्वाचन लक्षित गर्दै कास्कीमा सोमबारदेखि रात्रीकालीन व्यवसाय बन्द गर्न निर्देशन
पोखरा । आउँदै गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले कास्कीमा रात्रीकालीन व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सोमबार (फागुन १८ गते) देखि अर्को निर्णय नभएसम्म जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण रात्रीकालीन व्यवसायहरू बेलुका ९:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने र त्यसपछि पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सूचनामा होटल, रेष्टुरेन्ट, मदिरा पसल, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टरलगायतका व्यवसायीहरूलाई निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पूर्ण सहयोग गर्न अनुरोध गरिएको छ ।
निर्देशनको पालना भए, नभएको सम्बन्धमा सुरक्षा निकायबाट अनुगमन गरिने र उल्लंघन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।