मतदानको दिन क–कसलाई सवारीसाधन पास आवश्यक पर्दैन ?

पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका दिन सवारीसाधन सञ्चालनलाई व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ अनुसार केही सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोग ले दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ को आधारमा नेपाल सरकारलाई सिफारिस गर्दै सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास नचाहिने व्यवस्था मिलाउन अनुरोध गरेको जनाएको छ ।

आयोगका अनुसार देहायका सवारीसाधनलाई मतदानका दिन पास आवश्यक नपर्नेः

(क) दमकल, एम्बुलेन्स, शववाहन ।

(ख) खानेपानीका, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन ।

(ग) दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन ।

(घ) अस्पताल सेवाका सवारीसाधनहरू (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) ।

(ङ) अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) ।

(च) हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन ।

(छ) नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन ।

(ज) आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनरपर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन ।

निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा कडाइ गरिने भएकाले सम्बन्धित सबैलाई व्यवस्था पालना गर्न आयोगले आग्रह गरेको छ ।