कास्कीमा रास्वपाको क्लिन स्वीप: तीनै क्षेत्रमा फराकिलो अन्तरको जित

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली जित हासिल गर्दै जिल्लाभर ‘क्लिन स्वीप’ गरेको छ । सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवारहरूले तीनै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजय हात पारेका हुन् ।

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत पाए । नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गरे ।

यस्तै कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी बने। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका माधव बास्तोलाले छ हजार ५०० मत ल्याए  ।

कास्की क्षेत्र नम्बर ३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत र नेकपा (एमाले) का दामोदर पौडेलले सात हजार ९०६ मत प्राप्त गरेका छन् ।

जिल्लामा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेकामा एक लाख ८८ हजार ७६ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कास्की–१ मा ७० हजार १५०, कास्की–२ मा ५२ हजार ५१९ र कास्की–३ मा ६५ हजार ४०७ मत खसेको थियो ।

यस नतिजासँगै कास्कीमा रास्वपाले तीनै निर्वाचन क्षेत्रमा जित निकाल्दै जिल्लाको प्रतिनिधिसभा प्रतिनिधित्व पूर्ण रूपमा आफ्नो पक्षमा पार्न सफल भएको छ ।