जेन–जी प्रदर्शन जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, कारबाहीको सिफारिस

काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

आयोगले विशेषगरी फागुन २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीसमक्ष बुझाएको हो ।

आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही गर्न र राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

उनका अनुसार आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको छ । अनुसूची तथा अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज भने करिब ८ देखि १० हजार पृष्ठसम्म पुगेको उनले जानकारी दिए ।

शर्माका अनुसार प्रतिवेदनमा फागुन २३ र २४ गते भएका घटनालाई मसिनो रूपमा विश्लेषण गरिएको छ । घटनाका क्रममा देखिएका कमजोरी, सुरक्षा व्यवस्थापन, निर्णय प्रक्रियालगायत पक्षको अध्ययन गर्दै आयोगले आवश्यक सुझाव र सिफारिसहरू पनि समेटेको जनाएको छ ।

आयोगले बुझाएको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।