राजु गिरी, पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि २१औँ संस्करणको ‘खुला प्याराग्लाइडिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । एकुरेन्सी विधामा हुने प्रतियोगितामा नेपालसहित विभिन्न ९ देशका ६३ जना खेलाडी पाईलट सहभागी छन् ।
प्रतियोगिता तीन दिन सम्म चल्नेछ । सहभागी खेलाडी पाईलटले पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन् र अवतरणका क्रममा उनीहरूको एकुरेन्सि जाँच हुनेछ । कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विसं २०७८ मा देशभर ‘सोलो’ उडानमा रोक लगाएका कारण २०औँ संस्करणसम्म भएको च्याम्पियनसिप स्थगित भएको थियो ।
त्यस्तै पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोकिएको थियो । निकै सम्भावना रहेको प्याराग्लाइडिङमा नेपालले १८औँ एसियाली खेलकुदमा रजत पदक जित्न सफल भएको थियो । पाँच वर्षपछि सञ्चालनमा आएको यस्ता प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पोखरा मात्र नभई नेपाललाई नै स्थापित गर्न र चिनाउन भूमिका खेल्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन् ।
नेपालमा हुने यस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको निरन्तरताका कारण देशले खेलकुदमा उपलब्धि हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको छ । खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ ।
हवाई क्षेत्रको कानुनी व्यवधानले अन्योलता देखिए पनि पछिल्लो समय व्यावहारिक र कानुनी रुपमै ठीक देखिएकाले फेवातालको माथि सराङकोटबाटै उडाउन थालिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसी बताउँछन् ।
पाँच वर्षपछि पुनः सुरु भएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताले साहसिक खेल पर्यटनको माध्यमबाट नेपाललाई विश्व माझ थप चिनाउने विश्वास गरिएको छ । साथै यस्ता गतिविधिले स्थानीय अर्थतन्त्र, पर्यटन प्रवर्द्धन र खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।