सामाजिक सञ्जालमा महिलामाथि दुर्व्यवहार बढ्दै, परिवर्तन नेपाल अभियानद्वारा कडा कारबाहीको माग

पोखरा । परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत महिलामाथि बढ्दो दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र पेश गरेको छ ।

अभियानका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय कास्की पुगेर सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले लोकतन्त्रको मर्मअनुसार अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने तर त्यसको दुरुपयोग गरी महिलामाथि अशोभनीय, अपमानजनक तथा यौनजन्य टिप्पणी गर्ने, यहाँसम्म कि बलात्कारजस्ता जघन्य अपराधको धम्की दिने प्रवृत्ति गम्भीर सामाजिक समस्या बन्दै गएको उल्लेख गरेका छन् ।

यस्ता गतिविधिले महिलाको मौलिक अधिकारमाथि सीधा आक्रमण गर्नुका साथै समाजमा भय र असुरक्षाको वातावरण सिर्जना भइरहेको परिवर्तन नेपाल अभियान पोखराकी अध्यक्ष सरस्वती पुरीको भनाई छ । अध्यक्ष पुरीका अनुुसार सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिने यस्ता अमानवीय कार्यहरू नियन्त्रण गर्न राज्य संयन्त्र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने माग पनि गरिएको छ ।

अभियानले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ ।