पोखरा । होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१औँ फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव यही चैत्र २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइड क्षेत्र खहरेचोकदेखि सहिदचोकसम्मको सडक क्षेत्रमा सञ्चालन हुने भएको छ ।
पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवको अवसरमा संघअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने भएका छन् । साथै इ–सेवाबाट होटल बुकिङ गर्दा १० प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) पाउने सुविधा पनि उपलब्ध गराइएको महोत्सव संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
महोत्सवका प्रमुख आकर्षणहरूमा प्रादेशिक स्तरका सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारसहितको खानाको प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता तथा पर्यटक दौड प्रतियोगिता रहेका छन्। साथै सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन् । स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि महोत्सवको औपचारिक उद्घाटन गरिनेछ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न २० वटा विभिन्न उपसमिति गठन गरिएको छ। “जाऔँ है पोखरा” अभियानअन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशसँग सहकार्य गर्दै पूर्वी नेपालका विभिन्न सहरमा पुगेर निमन्त्रणा गरिसकिएको छ । साथै लुम्बिनी प्रदेशका सञ्चारकर्मीमार्फत पश्चिम क्षेत्रका बासिन्दालाई पनि महोत्सवमा सहभागी हुन आग्रह गरिएको छ ।
पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र पोखरासम्म जोड्ने पृथ्वीराजमार्गको स्तरोन्नति कार्य करिब सम्पन्न भइसकेकाले पर्यटक आगमनमा थप सहजता हुने अपेक्षा गरिएको छ। साथै मध्यपूर्व क्षेत्रमा जारी तनाव चाँडै अन्त्य भई पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।