पोखरा । पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरीले शुक्रबार १४औँ वार्षिकोत्सव तथा यूकेजी दीक्षान्त समारोह पोखरा ड्यामसाई स्थित रोयल मल व्याङक्युटमा भव्यताका साथ सम्पन्न गरेको छ ।
समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले बालबालिकाको आधारभूत शिक्षा नै जीवनको महत्वपूर्ण जग भएको उल्लेख गर्दै विद्यालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास र सृजनशीलता विकास गर्ने बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष हस्त बहादुर थापाले होलिल्याण्ड मन्टेश्वरीले सुरुवातदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, फाउन्डर प्रिन्सिपल गोमा कार्की थापा ले विद्यालयको उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराउँदै सम्पूर्ण अभिभावक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा यूकेजीका ४० जना नानीबाबुहरूलाई दीक्षित गरिएको थियो । दीक्षान्त टोपी र गाउनमा सजिएका बालबालिकाको उत्साहले समारोहलाई अझ विशेष बनाएको थियो । उनीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना प्रदान गरिएको थियो ।
यसैगरी, विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक कार्यक्रमहरू आकर्षणको केन्द्र बनेको थियो । समग्रमा, वार्षिकोत्सव र दीक्षान्त समारोहले विद्यालयको शैक्षिक उपलब्धि र बालबालिकाको उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको जनाइएको छ ।