अकलापुरका स्थानीय रक्तदानमा जुटे, सुरक्षाका लागि टोलमा सिसिटिभि क्यामेरा समेत जडान

पोखरा । पोखरा १५ मा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रगत अभावकै कारण कसैको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले पोखरा १५ अकलापुरका जनता रगत संकलनमा लागेका हुन् ।

शनिबार गरिएको कार्यक्रमबाट ३३ युनिट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी वडा १५ उपशाखा, अकलापुर आमा समुह र अकलापुर टोल विकास संस्थाको आयोजित कार्यक्रममा टोलको सुरक्षाका लागि जडान गरिएको सिसिटिभि क्यामराको समेत शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा १५ का वडा अध्यक्ष तोरण बाँनियाले वडाको सुरक्षा र जनताको सेवामा सबै एकजुट हुन सके घेरै कुरामा राज्यको भर हटेर जाने धारणा ब्यक्त गरे । कार्यक्रमको अध्यक्ष समेत रहेका अकलापुर टोल विकास संस्थाका अध्यक्ष बेल बहादुर बिकले टोल सुधारका हरेक कुरामा जनप्रतिनिधीहरुलाई सघाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै अकलापुर टोल विकास संस्थाका उपाध्यक्ष मनोज भट्टले आगामी दिनमा समाज सेवा र टोल सुधारका नयाँ कार्यक्रम संचालन गरि टोल र वडाबाट सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिए ।

टोलमा हाल ३० वटा सिसी क्यामेरा जडान गरिएको छ । टोलमा कुनै पनि अप्रिय घटना अथवा दुर्घटना नबढोस् भन्ने हेतुले टोल विकासका उपाध्यक्ष मनोज भट्टको संयोजकत्वमा उक्त सिसिटिभी क्यामेरा जडान गरिएको हो ।