पोखरा । एकाबिहानै फेवाताल छेउमा रहेका घरटहरामा डोजर चलाइएको छ । शनिबार बिहान ५ बजेनै नगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन शुरु गरिएको हो । एकाबिहानै तालछेउका टहरा हटाउन थाले पछि स्थानीय बिरोधमा उत्रिए । उनीहरु राज्य आतंक बन्द गर भन्दै आन्दोलित भए ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ↓
यता भर्खर गठन भएको रास्वपा सरकारले फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा फेवाताल अतिक्रमण हटाउने विषय समावेश थियो । सोही अनुसार गृह मन्त्रालयको मध्यरातको निर्देशनपछि प्रहरी प्रशासनले फेवाताल छेउछाउमा बनाइएका ३२ भन्दा बढी अस्थायी टहराहरू भत्काएको छभने पर्यटन व्यवसायी कर्ण शाक्यको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट रिसोर्टमा समेत डोजर चलाइएको छ ।
सर्वोच्च अदालतले फेवातालको उच्च जलस्तर (हाई फ्लड प्वाइन्ट) बिन्दुबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना निर्माण नगर्न, नगराउन र नदिनु भनी स्पष्ट परमादेश जारी गरेको थियो । अदालतले उक्त क्षेत्रलाई पूर्ण रूपमा हरियो क्षेत्र (ग्रिन जोन) बनाउन र ६ महिनाभित्र सबै संरचना हटाई खाली गर्न सरकारलाई निर्देशन दिएको थियो ।
मापदण्डभित्र निजीमात्रै होइन सरकारी संरचना पनि पर्छन् । ड्यामसाइडस्थित प्रहरी तालिम केन्द्र, पोखरा महानगरपालिकाको शिक्षा महाशाखा भएको भवन, नेपाल पर्यटन बोर्डको कार्यालय, राजपरिवारले बनाएको रत्नमन्दिर र हिमागृह दरबार, केदारेश्वर मन्दिर, फिस्टेल लज, सेदीको वाटरफ्रन्ट रिसोर्टसहित ताल वारि र पारिका होटल, रेष्टुरेन्टदेखि टहरासम्म पर्छन् ।
सर्वोच्चको अदालतको आदेश र नवगठित सरकारको एक सय कार्यसुचिमा फेवाताल संरक्षण परेकाले पनि अवैधानिक संरचना हटाउने कार्य अगाडी बढेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन् ।