पोखरा । परिवर्तन नेपाल अभियान, पोखराद्वारा केदारेश्वर मन्दिर, बैदाममा सरसफाइ सामग्री वितरण तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत मन्दिर परिसर तथा गुरुकुलमा अध्ययनरत करिब ४० जना बटुकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा उनीहरूको रक्तचाप (प्रेसर) तथा मधुमेह (सुगर) जाँच गरिएको अभियानले जनाएको छ ।
त्यसैगरी, मन्दिर परिसरको सरसफाइ गर्दै स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले डस्टबिन, कुचो, डस्टर, फिनाइल, पोछा लगायतका आवश्यक सरसफाइ सामग्री वितरण गरिएको थियो । सरसफाइ व्यवस्थापनलाई दिगो बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको अभियानकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् ।
अभियानका अनुसार धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्वच्छ वातावरण निर्माणमा स्थानीय समुदायलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

परिवर्तन नेपाल अभियान पोखराले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।