गण्डकी प्रदेशका नवनियुक्त मन्त्री कार्कीको पहिलो निर्णय: ११ जिल्लाका कृषकलाई पुरस्कृत गरिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै प्रदेशका ११ जिल्लाका उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन् ।

बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै सपथ ग्रहणपछि मन्त्रालय पुगेका मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन्। पदभार ग्रहण कार्यक्रममै उनले सबै सरोकारवालाको सुझाव समेटेर प्रभावकारी कार्ययोजना निर्माण गर्ने र सोही अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले गण्डकी प्रदेशको कृषि क्षेत्रलाई थप सुदृढ बनाउँदै जनताको आयआर्जन वृद्धि गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे । उनले भने, “कृषिमा व्यावसायिकता र आधुनिकीकरणमार्फत जनजीविकालाई मजबुत बनाउनु आवश्यक छ ।”

त्यसैगरी, अव्यवस्थित भूमिहीनहरूको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी योजना ल्याउने र सहकारी क्षेत्रलाई थप व्यवस्थित तथा मर्यादित बनाउनेतर्फ विशेष ध्यान दिने उनले बताए । कृषि, भूमि र सहकारी क्षेत्रलाई जनजीविकाको मुख्य आधार बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गरिने उनको भनाइ छ । मन्त्री कार्कीले पदस्थापना कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी कृषक सम्मानबाट सकारात्मक सुरुवात गरिएको उल्लेख गर्दै विगतका नीति तथा कार्यक्रमलाई अझ सुदृढ बनाउँदै कार्यान्वयनमा निरन्तरता दिइने बताए । यसअघि, मन्त्रालयका निमित्त सचिव बालकृष्ण अधिकारीसहितका कर्मचारीहरूले मन्त्री कार्कीलाई स्वागत गरेका थिए। पदस्थापन अघि मन्त्री कार्की तथा एमालेबाट नियुक्त अन्य मन्त्रीहरूले पोखरा ७ स्थित पुष्पलाल पार्क र झपिन्द्र पार्कमा पुगेर पुष्पलाल तथा शहीदहरूको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।