पोखरा । गण्डकी प्रदेशमा क्षयरोग नियन्त्रण तथा उन्मूलन लक्ष्यलाई सुदृढ बनाउन लक्षित “आधारभूत जेडएन माइक्रोस्कोपिक मोडुलर तालिम” सफलतापूर्वक सम्पन्न भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराको आयोजनामा २०८३ वैशाख ४ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको उक्त तालिममा गण्डकी प्रदेशका १०१ टिबी माइक्रोस्कोपिक सेन्टर (DMC) मध्ये ११ सेन्टरका ११ जना प्राविधिक सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधी बसौलाले गरेका थिए। उद्घाटन सत्रमा प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रको अध्यक्षता रहेको थियो भने गुणस्तर नियन्त्रण शाखाका प्रमुख भूपदेव भट्टले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन फोकल पर्सन डिल्लुराज पौडेलले गरेका थिए ।
तालिममार्फत सहभागीलाई क्षयरोग (टिबी) को सूक्ष्म परीक्षण (माइक्रोस्कोपी) सम्बन्धी आधारभूत सीप तथा गुणस्तरीय परीक्षण प्रक्रिया बारे दक्ष बनाइएको आयोजकले जनाएको छ । यस प्रकारको तालिमले नेपालले सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रमको समापन वैशाख ९ गते प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले गरेका थिए। सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् ।