शहिद झपेन्द्र कार्कीको ३६औं स्मृति दिवस दीप प्रज्वलन गरी मनाइयो

पोखरा । शहिद झपेन्द्र कार्कीको ३६औं स्मृति दिवसका अवसरमा बिहीबार पोखरा–७ राष्ट्र बैंक मार्ग स्थित शहिद झपेन्द्र स्मृति पार्कमा दीप प्रज्वलन कार्यक्रमसहित मनाइएको छ ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले सहिद झपेन्द्र कार्कीले लोकतन्त्र स्थापनाका लागि गरेको अतुलनीय बलिदानको उच्च मूल्याङ्कन गर्दै उहाँको योगदान सधैं प्रेरणाको स्रोत रहने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले शहिदहरूको सपना पूरा गर्न वर्तमान पुस्ताले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्र केवल प्राप्त उपलब्धि मात्र नभई त्यसको संरक्षण, सुदृढीकरण र जनताको जीवनस्तर उकास्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । देशलाई समृद्ध बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताउँदै शहिदहरूको आदर्शलाई व्यवहारमा उतार्नु नै साँचो श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष अनिल कुमार शाहीले गर्नुभएको थियो । विशेष अतिथिका रूपमा गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय लिला थापा, कर्मचारी संगठनका केन्द्रीय सदस्य भरत भुसाल, नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले शहिद झपेन्द्र कार्कीको बलिदान नेपाली लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँको मार्गदर्शनलाई आत्मसात् गर्दै देशको विकास, सुशासन र समृद्धिको यात्रामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।