स्याङ्जा । स्याङ्जामा पहिलो पटक आयोजना भएको छ यस्तो मेला, जसले किसानको आम्दानी मात्र होइन, स्वास्थ्य, कृषि र स्थानीय अर्थतन्त्रलाई समेत जोड्ने प्रयास गरेको छ । फेदीखोला गाउँपालिकाले पहिलो पटक आयोजना गरेको ‘मौरी तथा मह मेला’ ले स्थानीय महको उत्पादन, बजारीकरण र स्वास्थ्यसँग यसको सम्बन्धलाई नयाँ ढंगले उजागर गरेको छ ।
मौरीपालनलाई परम्परागत अभ्यासबाट व्यवसायिक पेसाका रूपमा विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा कृषिसम्बन्धी अन्तरक्रिया, उत्कृष्ट मौरीपालक किसान सम्मान तथा महसँग सम्बन्धित विभिन्न कार्यक्रम समावेश गरिएका थिए ।
मेला केवल महको प्रदर्शनमा सीमित छैन । यसले किसानहरूबीच अनुभव आदान–प्रदान, नयाँ प्रविधिको जानकारी र बजार पहुँच विस्तार गर्ने अवसर समेत दिएको छ । मेलाको उतघाटन गर्दै गण्डकी प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले कृषि पेशालाई मर्यादित् बनाउन योजना अगाडी बढाएको बताए । त्यस्तै युवाहरुलाई गाउँमा फर्केर कृषि पेशाप्रति आकर्षण गर्न रिटर्न टु भिलेज कार्यक्रम ल्याउने तयारी गरिएको मन्त्री कार्कीको भनाई छ ।
त्यस्तै मौरीपालनलाई सानो लगानीबाट सुरु गरेर छोटो समयमै राम्रो आम्दानी लिन सकिने व्यवसायका रूपमा प्रवद्र्धन गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउछन् ।
मह स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसैले यसको माग स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म बढ्दो छ । यही सम्भावनालाई देखेर पछिल्लो समय धेरै किसान मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि निकै उत्साहित बनिन् खरी कुमारी गुरुङ । अहिले बार्षिक ८ लाख आम्दानी गर्ने गरेको उनको भनाई छ ।
फेदीखोलामा आयोजित यो मह मेलाले स्थानीय उत्पादनको पहिचान बढाउनुका साथै गुणस्तरीय महको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । साथै, परम्परागत खेतीबाट व्यवसायिक कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने सन्देश पनि दिएको छ । किसानलाई सीप र प्रविधिसँग जोडेर व्यावसायिक बनाउन गाउँपालिकाले तालिम, गोष्ठी र यस्ता मेलालाई निरन्तरता दिइरहेको बताउँछन् प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल ।
मीठो स्वाद मात्र होइन, समृद्धिको आधार पनि बन्दै गएको छ मह । स्याङ्जाको फेदीखोलाबाट सुरु भएको यो अभियानले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानलाई आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ । सानो लगानी, ठूलो सम्भावना र स्वस्थ जीवनको सन्देश बोकेको यो ‘मौरी तथा मह मेला’ ले कृषि क्षेत्रमा नयाँ आशा जगाएको छ ।