पोखरा । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने एक सर्वोत्कृष्ट र पाँच उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर तथा मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गर्नुभयो।
यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ स्थित सहारा कृषि फर्मका सञ्चालक गमबहादुर कुँवरलाई प्रदान गरिएको छ। उहाँले सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो।
त्यस्तै प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ स्थित रोशन एण्ड रोहित कृषि फर्मका सञ्चालक रमेश खनाल, तनहुँको व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना, स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित खिलुङ कालिका अर्गानिक कृषि फर्मका सञ्चालक शालिग्राम अर्याल तथा मुस्ताङको निलगिरी पशुपन्छी तथा कृषि व्यवसायका सञ्चालक भुपेन्द्र शेरचन सम्मानित हुनुभयो। उत्कृष्ट पुरस्कार प्राप्त प्रत्येक कृषकलाई सम्मानपत्रसहित नगद ३२ हजार रुपैयाँ प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी डा. राजेशकुमार चौधरीले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कृषि उत्पादनलाई बजारसँग जोडेर प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले उत्कृष्ट कृषकलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्ने र अन्य कृषक पनि आधुनिक तथा व्यवसायिक खेतीतर्फ आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग तथा उत्पादन वृद्धि गर्ने कृषक र कृषि फर्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताउनुभयो। उहाँले यस्ता सम्मानले सकारात्मक प्रतिस्पर्धा, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
पुरस्कृत कृषकहरूले सम्मानले थप जिम्मेवारीका साथ काम गर्ने प्रेरणा मिलेको बताएका छन्। उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र कृषि पेसालाई थप व्यावसायिक बनाउने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। मन्त्रालयका अनुसार कृषि क्षेत्रलाई दिगो, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन आगामी वर्षहरूमा यस्ता कार्यक्रम थप विस्तार गरिनेछ। कृषकको मनोबल बढाउँदै स्थानीय उत्पादनको प्रवर्द्धन र कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ मन्त्रालयले प्रदेश उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।