पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य सन्तोष पोखरेललाई स्वागत गर्दै बधाई अर्पण गरेको छ ।
सोही सन्दर्भमा टान गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका नीतिगत, संरचनागत तथा व्यवस्थापकीय समस्या समाधानका लागि नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराएको छ । टानले टिम्स (TIMS) प्रणालीको प्रभावकारी कार्यान्वयन, पदमार्ग संरक्षण, अवैधानिक ट्रेकिङ नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा बोर्डको प्रभावकारी भूमिका आवश्यक रहेको जनाएको हो ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पदयात्रा पर्यटनसँग सम्बन्धित नीतिगत, संरचनागत तथा व्यवस्थापकीय समस्या समाधानका लागि आठबुँदे सुझाव प्रस्तुत गरे । उनले टिम्स प्रणालीको प्रभावकारी कार्यान्वयन, पदमार्ग संरक्षण, अवैधानिक ट्रेकिङ नियन्त्रण तथा नयाँ पदमार्गको विकास र प्रवर्द्धनमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताए ।
ज्ञापनपत्रमा कोभिड–१९ पछि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) तत्काल पूर्ण रूपमा लागू गर्न, इजाजतप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रा सञ्चालन हुने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न तथा अवैधानिक ट्रेकिङ गतिविधिमा नियन्त्रण गर्न माग गरिएको छ ।
साथै पर्यटन ऐन तथा नीतिमा पदयात्रा पर्यटनलाई प्राथमिकता दिन, धवलागिरि क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न, पदमार्ग संरक्षण गर्न, फेक रेस्क्यु नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न तथा नयाँ पदमार्गको विकास र प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन, नयाँ गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रचारप्रसार र दिगो पर्यटन विकासमा केन्द्रित हुनुपर्ने माग पनि गरिएको छ ।
टान गण्डकीका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले टिम्स प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा राज्यले राजस्व गुमाइरहेको बताउँदै बेरुजुलाई आधार बनाएर टिम्स प्रणालीको कार्यान्वयन रोक्न नहुने धारणा व्यक्त गरे । उनले नेपाल पर्यटन बोर्डले आफ्नो मूल जिम्मेवारीअनुसार पर्यटन प्रवर्द्धन र पदयात्रा पर्यटन व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताए ।
पदयात्रा पर्यटनसँग सम्बन्धित सुझावहरू बोर्डको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार, पर्यटन प्रवर्द्धन र गन्तव्य संरक्षणका विषयलाई प्राथमिकताका साथ अघि बढाइने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए । उनले सरकारले पर्यटन प्रवर्द्धन, डिजिटल प्रचार सामग्री निर्माण, वेलनेस पर्यटन तथा एकद्वार प्रणालीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा उपस्थित टान गण्डकीका निवर्तमान अध्यक्षहरू केशवबहादुर थापा, टिकाराम सापकोटा, रामचन्द्र शर्मा तथा हरि भुजेल, पदाधिकारी तथा अन्य सहभागीहरूले पदयात्रा पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, नीतिगत सुधार तथा पर्यटन बोर्डको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।