पोखरा । नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले संयुक्तरुपमा पोखराको फिर्केखोला करिडोर निर्माण अभियानका क्रममा खोलाघरभित्र रहेका संरचना हटाउने कार्य पूर्ण रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।
पत्रकार सम्मेलनमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा पोखरा महानगरपालिका–६, २, ४, ५, ७, ८ र १७ हुँदै बग्ने फिर्केखोलाको प्राकृतिक तथा पर्यावरणीय महत्वलाई संरक्षण गर्दै व्यवस्थित उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ । करिब ८ किलोमिटर लामो फिर्केखोलालाई पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने अभियानको भनाइ छ ।
विज्ञप्तिमा विगत १५ वर्षदेखि नागरिकस्तरबाट सञ्चालन हुँदै आएको ‘फिर्केखोला बचाऔँ अभियान’ तथा ‘फिर्के–बुलौंदी खोला बृहत् सफाइ अभियान’ स्मरण गर्दै फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माणको परिकल्पनासहित दबाबमूलक अभियान सञ्चालन हुँदै आएको जनाइएको छ ।
अभियानले पछिल्ला वर्षमा अनियन्त्रित अतिक्रमणका कारण सिर्जित प्रदूषण, फोहोरमैला व्यवस्थापनको कमजोरी, योजनाविहीन सहरीकरण र नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमा चुनौती थपिएको अभियानका संयोजक रामबहादुर पौडेलले बताए ।
खोलाघरमा निर्माण गरिएका संरचना पूर्ण रूपमा हटाउनुपर्ने अवस्थामा केही वडामा पर्खाल तथा गौँडासहितका संरचना हटाउन नसकिएको र केही जनप्रतिनिधिको निष्क्रियताप्रति पौडेलले प्रश्न उठाएका छन् । विज्ञप्तिमा खोलाघर आंशिक वा पूर्ण रूपमा खाली नगरिएका विभिन्न वडाका संरचनाको विवरणसमेत सार्वजनिक गरिएको छ ।
वडा नं. ४ अन्तर्गत पर्स्याङको राजमार्ग पुलदेखि पश्चिमतर्फ खोलाघरमा बनेको सुकुम्बासी टहरा, पर्स्याङ पुलदेखि पूर्वतर्फ भयरस्थानसम्मका केही पक्की संरचना, स्काउट कम्पाउन्डदेखि करिब १०० मिटर उत्तरसम्मका पक्कीघर तथा दक्षिणतर्फ पटक–पटक डुबानमा परेका घर पूर्ण रूपमा नहटाइएको उल्लेख छ ।
त्यस्तै, वडा नं. ५ अन्तर्गत स्काउट कम्पाउन्डदेखि १०० मिटर उत्तरतर्फका भवन, दक्षिणतर्फका संरचना, रेडियो नेपालदेखि दक्षिणतर्फ रिठ्ठोगौंडाको खोलाघरमा बनेका संरचना तथा जिल्ला रेडक्रस जोड्ने पुलदेखि दक्षिणतर्फका दुई भवन हटाउन बाँकी रहेको विज्ञप्तिमा जनाइएको छ । पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तरपश्चिमतर्फका केही भवनसमेत पूर्ण रूपमा खाली नगरिएको उल्लेख छ ।
त्यस्तै बगाले टोल सामुदायिक भवन (किरियापुत्री भवन) र सोंपाल तमु समाजका संरचना पूर्ण रूपमा नहटाइएको अभियानले जनाएको छ ।
अभियानले फिर्केखोला संरक्षण र करिडोर निर्माणलाई केवल संरचना हटाउने अभियानमा सीमित नगरी प्राकृतिक बहाव, वातावरणीय सन्तुलन, जैविक विविधता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसँग जोडेर दीर्घकालीन योजना बनाउनसमेत माग गरेको छ ।