सूर्यचन्द्र विकास समाजको ३३औँ स्थापना दिवसमा रक्तदान, ३७ युनिट रगत संकलन

पोखरा । सूर्यचन्द्र विकास समाजले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।

संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा. डा. भरतबहादुर खत्री सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, सल्लाहकार, अक्षयकोषदाता तथा पोखरा ५ का शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा स्थानीयवासी तथा शुभेच्छुकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । संकलित रगतले आवश्यकताका समयमा बिरामीलाई सहयोग पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमराज भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव दीपक बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

संस्थाले रक्तदान कार्यक्रममा सहभागी रक्तदाता, सहयोगी तथा शुभेच्छुक सबैप्रति धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको छ ।