पोखरा । युवापुस्ताको मानसिक स्वास्थ्य, सामाजिक दबाब र आधुनिक जीवनशैलीका जटिलतालाई केन्द्रमा राखेर तयार गरिएको नाटक ‘द कोर्ट’ अहिले विभिन्न कलेज तथा विद्यालयमा प्रदर्शन भइरहेको छ । नाटकले युवाको जीवनमा देखिने समस्या, सफलता र सामाजिक अपेक्षाबीचको द्वन्द्व तथा त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई रंगमञ्चमार्फत प्रस्तुत गरेको छ ।
बात्स्यायन फाउन्डेसन र एक्स्ट्रास्टुडियोको संयुक्त पहलमा तयार भएको नाटक ‘द कोर्ट’ केवल मनोरञ्जनका लागि नभई युवापुस्ताको मानसिक स्वास्थ्य र सामाजिक अवस्थाबारे गहन बहस सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको जनाइएको छ ।

नाटकको कथामा २२ वर्षको विवेक पात्रमार्फत युवाको संघर्ष र जीवनका यथार्थता प्रस्तुत गरिएको छ । परिवार तथा समाजका अपेक्षा, प्रतिस्पर्धा, विदेश जाने सपना र सामाजिक सञ्जालमा देखिने चम्किलो जीवनका बीच विवेकले आफूलाई हराउँदै गएको महसुस गर्छ । निरन्तरको दबाबले आत्मविश्वास कमजोर हुँदै जाँदा उसको जीवनमा देखिने मानसिक द्वन्द्वलाई नाटकले उजागर गरेको छ ।
नाटकका लेखक तथा निर्देशक अनुप बरालका अनुसार ‘द कोर्ट’ आजको समाजमा बाहिरबाट सबै ठीकठाक देखिए पनि भित्रभित्रै एक्लोपन, डिप्रेसन र मानसिक दबाबसँग संघर्ष गरिरहेका युवाको यथार्थमा आधारित छ । नाटकमा कोर्टलाई बास्केटबल खेल्ने ठाउँका रूपमा मात्र नभई समाज र मानिसको मनको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
शारीरिक अभिनय, तीव्र शारीरिक लय र दृश्य–कविताको शैली प्रयोग गरिएको नाटकले युवालाई आफ्ना समस्या र भावनाबारे खुलेर संवाद गर्न प्रेरित गर्ने विश्वास आयोजकको छ । साथै, नाटकमार्फत कला, समाज र नयाँ पुस्तालाई जोड्दै रंगमञ्च निर्माणको अभियानलाई अघि बढाउने उद्देश्यसमेत राखिएको छ ।