पोखरा । पोखरा महानगरपालिका–५ मा श्रीमद्भागवत महापुराणलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले वडा स्तरीय बृहत् आम भेला सम्पन्न भएको छ ।
भेलामा वडा नं. ५ का सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्वसँगै विभिन्न आमा समूह, टोल विकास संस्था, संघ–संस्था तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलामा वडा अध्यक्ष विष्णुप्रसाद बराल, कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा तथा वडा सदस्यहरू कल्पना भुवाजी र गोविन्द पराजुलीको उपस्थिति थियो। सहभागीहरूले महापुराणलाई सफल बनाउन तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले गर्नुभएको थियो। समितिका सचिव लक्ष्मणप्रसाद कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने प्रचार–प्रसार उपसमिति संयोजक लक्ष्मण बरालले संयोजन गर्नुभएको थियो ।
कार्यक्रममा सचिव कोइरालाले हालसम्म संरक्षक परिवार, व्यवस्थापन समितिका सदस्य तथा सहयोगी मनहरूबाट ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो । महापुराण सफल बनाउन आवश्यक व्यवस्थापन तथा तयारीबारे समेत उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, अध्यक्ष शिवप्रसाद पराजुलीले सन्तानेश्वर शिव मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभयो। अर्थ समिति संयोजक पुरुषोत्तम पराजुलीले महापुराणलाई वडा नं. ५ का सबै वडावासीको साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने भन्दै सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो ।
प्रचार–प्रसार संयोजक लक्ष्मण बरालका अनुसार सन्तानेश्वर शिव मन्दिरको पुनर्निर्माण कार्य सुरु भइसकेको छ। पुनर्निर्माणको पहिलो चरणको काम असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
श्रीमद्भागवत महापुराण भदौ १७ गतेदेखि २४ गतेसम्म शिवालय मन्दिर प्राङ्गणमा सञ्चालन हुनेछ। महापुराणमा पण्डित श्री दीपकप्रसाद पौडेलले कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।
धार्मिक सम्पदाको संरक्षण, संवर्द्धन तथा यसको ऐतिहासिक र धार्मिक महत्व भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको महापुराणलाई सफल बनाउन आयोजक समितिले वडा नं. ५ का सम्पूर्ण वडावासी, आमा समूह, टोल विकास संस्था, युवा, ज्येष्ठ नागरिक, सामाजिक संघ–संस्था तथा धर्मप्रेमी महानुभावलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ ।