पोखरा । नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परिवर्तन नेपाल अभियान र नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराबीच स्वास्थ्य परीक्षण तथा उपचार सेवामा सहकार्य गर्ने सम्बन्धमा सहमति भएको छ।
सहमति पत्रमा नेपाल मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ओझा र परिवर्तन नेपाल अभियानका अध्यक्ष श्री सरस्वती पुरीले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार परिवर्तन नेपाल अभियानको सिफारिसमा अस्पतालमा सेवा लिन आउने सदस्य, कर्मचारी तथा अभियानले सिफारिस गरेका व्यक्तिहरूलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराइनेछ।
सहमति अनुसार अस्पतालले दर्ता शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउनेछ। त्यस्तै, सेमी प्राइभेट सेवामा १० प्रतिशत, स्पेसल क्याबिन तथा डिलक्समा १५ प्रतिशत र एक्जिक्युटिभ सेवामा २० प्रतिशत छुट प्रदान गरिनेछ।
त्यसैगरी नियमित स्वास्थ्य जाँचअन्तर्गत CBC, ESR, Urine R/E, FBS, LFT, ECG, FLP, X-ray, Uric Acid, Thyroid Function Test, Blood Grouping तथा USG Abdomen and Pelvis लगायतका परीक्षणमा १५ प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको छ।
अस्पतालले न्युरोसर्जरी तथा अति विशिष्ट (Super Speciality) सेवा बाहेकका अन्य शल्यक्रिया सेवामा १० प्रतिशत छुट तथा Plain CT र Plain MRI लगायतका विशेष अनुसन्धानमा समेत १० प्रतिशत छुट उपलब्ध गराउनेछ।
सहमति कार्यान्वयनका लागि परिवर्तन नेपाल अभियानको सिफारिस पत्र तथा सम्बन्धित व्यक्तिको परिचय खुल्ने परिचयपत्र अनिवार्य हुने व्यवस्था गरिएको छ। सेवा लिनुअघि सम्बन्धित व्यक्तिले आफ्नो विवरण र संस्थासँगको सम्बन्धबारे जानकारी गराउनुपर्ने सहमति पत्रमा उल्लेख छ।
परिवर्तन नेपाल अभियानका अध्यक्ष सरस्वती पुरीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने अभियानअन्तर्गत मणिपाल शिक्षण अस्पतालसँग सहकार्य गरिएको बताइन्। उनले यस सहकार्यबाट अभियानसँग जोडिएका सदस्य तथा सिफारिस गरिएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण र उपचारमा आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरिन्।
सहमति पत्रअनुसार यो सहकार्य २०८५ साल असार मसान्तसम्म लागू हुनेछ र अवधि समाप्त भएपछि दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
नागरिकको स्वास्थ्य अधिकारलाई सहज बनाउने उद्देश्यले गरिएको यो सहकार्यले विशेषगरी नियमित स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण तथा उपचारका क्रममा हुने खर्चमा राहत पुर्याउने अपेक्षा गरिएको छ।