पोखराबाट नजिकै रहेको ट्रेकिङ भाइब्स दिने ‘पोथना’

पोखरा । पोथना मर्दी हिमाल पदयात्रा मार्गमा अवस्थित एउटा सानो गाउँ हो । मर्दी हिमाल पदयात्रा मार्गको सुरुवात भएसँगै पोथना गाउँ विस्तार भएको हो । समुद्र सतहबाट करिब १,९०० मिटरको उचाइमा रहेको यो अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल ट्रेक जाने पदयात्रीहरूका लागि प्रस्थान विन्दु तथा विश्रामस्थल हो । अन्नपूर्ण र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरुका साथै शान्त वातावरण र प्राकृतिक सौन्दर्यको आनन्दै लिँदै आराम गर्न र उच्च उचाईंको हावापानीसँग घुलमिल हुन उत्कृष्ट ठाउँ बनेको छ ।

पोखराबाट करिब २६ किलोमिटर उत्तर–पश्चिममा अवस्थित पोथना पैदल वा सवारी साधन दुवै माध्यमबाट पुग्न सकिन्छ । लामो ट्रेक गर्न नसक्नेहरुका लागि छोटो हाइकिङको अनुभव लिन सकिने ठाउँ हो । पोखराबाट नजिकै भएर पनि यहाँ पुगेपछि शहरको भन्दा बिल्कुलै फरक वातावरण महसुस हुन्छ । त्यसैले एक रात प्रकृतिसँग बिताउने योजना छ भने पोथना उत्तम विकल्प हुन सक्छ । पोथना आइपुग्दा पहिलो अनुभूति नै यहाँको चिसो वातावरण हो । पोखरामा गर्मीले उकुसमुकुस हुँदा पोथनालाई भने गर्मिले छोएकै हुँदैन ।

 

पोथना पुग्न दुईवटा पदमार्ग छन्, काँडे हुँदै अष्ट्रेलियन क्याम्पबाट जाने वा धम्पुस हुँदै जाने । अष्ट्रेलियन क्याम्पबाट करिब ३० मिनेट र धम्पुसबाट करिब एक घण्टाको पैदल यात्रापछि पोथना पुग्न सकिन्छ । पोखराको हरिचोकबाट काँडेसम्म आउने बस पाइन्छ । काँडेबाट हाइक सुरु हुन्छ र साढे १ घण्टा अथवा २ घण्टामा अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ । हिड्न मन पराउनेहरुका लागि काँडेबाट जाँदा उत्तम हुन्छ । फर्कदा चाँहि धम्पुसबाट झर्दा राम्रो तर गाडीको व्यवस्था भने पहिलै गरेको राम्रो । नत्र घट्टे खोला सम्म १ घण्टामा हिँडेर पनि झर्न सकिन्छ ।

पोथानाबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य विशेष रुपमा मनमोहक हुन्छन् । हिउँले ढाकिएका हिमशृंखलाका चुचुराहरु सुनौलो रङमा रंगिएका देखिन्छन् । पोथाना पदयात्रीहरुका लागि प्रकृतिसँग नजिकिने र स्थानीय संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने स्थल पनि हो । यहाँको बसाई अविस्मरणीय हुन्छ ।

 

रातिको खाना, बिहानको खाजा र बाससहितको प्याकेज जम्मा पर पर्सन १२ सय रुपैयाँमा पर्छ । यहाँ इलेक्टिसिटी, मोबाइल नेटवर्क र वाइफाईको सुविधा उपलब्ध छ । होटेल र चिया पसलहरु छन्, जहाँ न्यानो आतिथ्यता र परम्परागत नेपाली खानाको स्वाद लिन पाइन्छ ।
पोखराबाट सिधै जिपमा जान पनि सकिन्छ । पोथाना जानका लागि मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर सबैभन्दा राम्रो समय हो । पोथानाको मौसम अनिश्चित हुन सक्छ, विशेष गरी साँझको समयमा निकै चिसो बढ्न सक्छ ।