भोटेकोशी बाढीका १०२ शव पोखरा ल्याइयो, एउटै शवमा दुई परिवारको दाबी (भिडियो सहित)

राजु गिरी, पोखरा । भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । सबै शव सजिलै चिन्न सक्ने अवस्थाका छैनन् । शवहरूको फोटो खिचेर डिस्प्लेमा राखेपछि सबैले त्यहीँबाट आफन्तले पहिचान गरिरहेका छन् । गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शव पोखरा ल्याइएको हो । १०२ शव मध्य ६० बाढीको पोष्टमार्टम सकिएको छभने पोस्टमार्टममा फरेन्सिक विशेषज्ञ पनि सँगै खटिएका छन् । त्यसमध्ये १६ वटा शव पहिचान भइसकेको छ भने १४ वटा शव परिवारको जिम्मा लगाइसकिएको छ ।

यता पोखरा ल्याइएका शव पहिचान दाबीमा विवाद देखिएको छ । एउटा शवमा २ परिवारले दाबी गरिरहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शवको फोटो हेरेर २ परिवारले उक्त शव आफ्नो भएको दाबी गरे । हालसम्म उक्त शवको पहिचान भने हुन सकेको छैन । तर यता बर्दियादेखि आफ्नो भाइको शव पहिचान गर्दा पनि लान नदिएको गुनासो पीडित पक्षको छ ।

त्यस्तै एउटै शवमा २ परिवारको दाबी परेपछि विवाद समाधान गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । २ जनाले दाबी गरेपछिको अवस्थामा डिएनए परीक्षण गरी पहिचान भएपछि मात्र आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक प्रसाद रिजाल बताउँछन् । प्रहरीले सहायता कक्ष राखेर उनीहरूलाई सहजीकरण गरिरहेको छ ।