पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले भोटेकोशी बाढीपीडितका लागि ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
अनेरास्ववियु कास्कीमा आबद्ध विद्यार्थीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी डसना, चप्पल, खानेकुरालगायत आवश्यक सामग्री खरिद गरेका थिए। उक्त राहत सामग्री मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख सहायक जिल्ला अधिकारी चित्राङ्गत बराललाई हस्तान्तरण गरिएको हो ।
बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले अभियान सञ्चालन गरी राहत सामग्री संकलन गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष भोलानाथ पराजुलीले बताएका छन् । संकलित सामग्री प्रशासनमार्फत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ ।
अनेरास्ववियुले विपद्को समयमा पीडितको सहयोगमा सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ । अनेरास्ववियुले विगतमा पनि विपदको अवस्थामा यसरिनै राहत तथा उद्धार कार्यमा सहयोग गर्दै आएको छ ।