पोखरा । साङ्गीतिक कार्यक्रमका लागि अमेरिकाको एटलान्टा पुगेको पोखरेली ब्यान्ड कन्दराको कन्सर्टबाट रसुवा बाढी पीडितका लागि २० लाखभन्दा बढी रकम सङ्कलन भएको छ । अमेरिकाको एटलान्टा स्थित बि एण्ड एम ईभेन्ट्सको आयोजनामा गत शुक्रबार एभोन थिएटरमा सञ्चालित सांगीतिक कार्यक्रम आयोजक सहित दर्शकहरूले कन्दारा ब्यान्डमार्फत उक्त रकम सङ्कलन गरेका हुन् ।
कार्यक्रममार्फत् नेपाली २० लाख ६० हजार रकम सङ्कलन भएको आयोजक संस्था बि एण्ड एम ईभेन्ट्सले जनाएको छ । संगीत मनोरञ्जनका लागि मात्र नभई जुनसुकै बेला देशमा आइपर्ने विपद र त्यसले दिएको पीडालाई कम गर्न थोरै भएपनि कन्दराको कन्सर्ट सफल भएको बि एण्ड एमका अध्यक्ष मनिरजङ कार्की बताउँछन् । नेपालीहरू जहाँ रहेपनि नेपालमा आपत पर्दा त्यसको पीडा महसुस गर्न र सहयोगी भावना देखाउने गरेको र त्यसैको उदाहरण कन्दराको एटलान्टा कन्सर्ट भएको कार्कीको भनाइ छ । त्यहाँ सङ्कलित रकम कन्दरा ब्यान्ड मार्फत नै प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने कन्दरा ब्यान्डले जनाएको छ ।

रसुवा बाढीमा परेका पीडितहरूका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरू गरेर सहयोग नेपाल पठाउने आयोजक संस्था बि एण्ड एमले जनाएको छ ।