पदयात्रीको थकान मेटाउँदै ‘फुतफुते टी सप’

पोखरा ।
अन्नपूर्ण प्रथम आधार शिविर (नर्थ एबीसी) जाने पदमार्गमा यात्रा गरिरहेका पदयात्रीका लागि बाटोमा भेटिने एउटा तातो चियाको कपले पनि छुट्टै आनन्द दिन्छ । लामो उकालो/ओरालो पार गर्दै प्राकृतिक सौन्दर्य नियालिरहेका थकित यात्रुका लागि विश्राम गर्ने ठाउँ, खानाको व्यवस्था र न्यानो आतिथ्य पाउनु झनै महत्वपूर्ण हुन्छ । यात्रुहरुको थकान मेटाउने प्रयासमा आनन्द गर्बुजाले सञ्चालन गरेको ‘फुतफुते टी सप तथा अर्गानिक किचन’ पदमार्गको एउटा आकर्षक विश्रामस्थल बन्दै गएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका ३१ वर्षीय गर्बुजाले पदयात्रामा थकित शरीर लिएर आउने यात्रुका लागि यहाँको विश्राम सम्झन लायकको बनाउने उद्देश्यले टी सप सञ्चालन गरेको बताए । झरनाको छेउमा बसेर चियाको स्वाद लिन, कफी पिउन र प्राकृतिक दृश्य नियाल्न पाउने भएकाले यहाँ पुग्ने यात्रुका लागि यो ठाउँ सामान्य चिया पसलभन्दा फरक अनुभव बनेको छ ।

पहाडको काखबाट झरिरहेको पानीको आवाज, चट्टानबीच बगेको खोला, वरिपरिको हरियाली र हिमाली वातावरणबीच रहेको फुतफुते टी सपमा यात्रुहरु केहीबेर रोकिन्छन् । कोही तातो चिया पिउँदै यात्रा सम्झन्छन्, कोही झरनासँग तस्वीर खिच्छन् भने कोही अगाडिको यात्राका लागि शरीरलाई आराम दिन्छन् ।

टी सपमा चिया र कफी मात्र होइन, थुक्पा, भेज सूप, पास्ता, स्पागेटी, चटपट, चपाती–तरकारी, प्यानकेक, तिब्बती ब्रेड तथा दालभात लगायतका खानेकुरा पाइन्छ । पदयात्रामा रहेका यात्रुहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखेर विभिन्न प्रकारका खानाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

फुतफुते टी सपमा बासको पनि व्यवस्था छ । लामो पदयात्रामा रहेका पर्यटक तथा यात्रुका लागि खाना, विश्राम र बसाइको सुविधा एकै ठाउँमा उपलब्ध गराउने प्रयास गरिएको उनको भनाइ छ । फुतफुते टी सपको विशेषता यसको प्राकृतिक वातावरण हो । फुटफुटे झरनाको दृश्य र वरिपरि फैलिएको हरियालीले यात्रुलाई आकर्षित गर्छ । प्रकृतिले बनाएको दृश्य यहाँको मुख्य आकर्षण बनेको छ ।

फुतफुते टी सपको अनुभवलाई एउटा वाक्यमा भन्नुपर्दा ‘चिसो झरनाको छेउमा तातो चिया र न्यानो आतिथ्य’ हो ।

गर्बुजाले आफ्नो गाउँ र प्राकृतिक सम्भावनालाई पर्यटनसँग जोड्ने प्रयास गरिरहेका छन् । अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गमा पर्यटकको आवागमन बढ्दै जाँदा बाटोमा गुणस्तरीय सेवा उपलब्ध गराउन सके स्थानीय पर्यटन व्यवसायको सम्भावना पनि बढ्ने उनको विश्वास छ ।

पर्यटकका लागि एउटा राम्रो विश्रामस्थल बन्नुका साथै स्थानीय युवाले गाउँमै सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण पनि फुतफुते टी सपले प्रस्तुत गरेको छ । फुटफुटे टी सपको अनुभवलाई एउटा वाक्यमा भन्नुपर्दा ‘चिसो झरनाको छेउमा तातो चिया र न्यानो आतिथ्य’ हो । उचित व्यवस्थापन र पर्यटकमैत्री सेवा विस्तार गर्न सके फुटफुटे टी सप भविष्यमा नर्थ एबीसी पदमार्गको एउटा उत्कृष्ट गन्तव्य ‘ट्रेलसाइड टी सप’ बन्न सक्ने सम्भावना देखिन्छ ।

फुतफुते झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ मा रहेको एबीसी जाने पदमार्गमा पर्ने फुतफुते झरना पछिल्लो समय एक नयाँ पर्यटकीय गन्तव्यका रुपमा उदाएको छ । समुन्द्र सतहबाट ३ हजार १ सय ३३ मिटर उचाईंमा रहेको झरना मिस्त्री खोलाको सफा नीलो पानी भिरबाट खसेर बनेको हो । यो खोला अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराह शिखर हिमालबाट पग्लिएर आउने हिउँको पानीले बनेको हो ।

हुम खोलाबाट फुतफुते झरनासम्म पुग्न करिब एक घण्टाको पैदल यात्रा गर्नुपर्छ । झरना देख्नेबित्तिकै पदयात्राको सबै थकान मेटिने पदयात्रीहरु बताउँछन् । झरनाको वरिपरिको हावापानी निकै शीतल हुन्छ, जसले पदयात्रीहरुलाई स्फूर्तिदायी विश्राम प्रदान गर्दछ । फुतफुते झरना आफैंमा एउटा छुट्टै पर्यटकीय गन्तव्य भने होइन, नर्थ एबीसी जाने पदयात्राको एक हिस्सा हो ।