बाढीपीडितका लागि सच्चाई केन्द्र नेपालको ५१ लाख बढी सहयोग

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले रु. ५१ लाख १ हजार १०० सहयोग गरेको छ । सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाश दीप गैरेको नेतृत्वमा केन्द्रले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित परिवारको उद्धार तथा राहतका लागि विभिन्न निकाय र संघसंस्थाले सहयोग गर्दै आएका छन् । सोही क्रममा सच्चाई केन्द्र नेपालले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवाको भावनासहित सहयोग गरेको जनाएको छ । केन्द्रले धार्मिक तथा आत्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई पनि आफ्नो दायित्वका रूपमा अघि बढाउँदै आएको बताएको छ ।

सच्चाई केन्द्र नेपालले विपद्का कारण समस्यामा परेका नागरिकको पीडा कम गर्न ‘सहयोगी हातहरूलाई बढाऔँ’ भन्ने भावनाका साथ सहयोग गरिएको जनाएको छ । केन्द्रका अनुसार सरकार तथा सम्बन्धित निकायको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले योगदान गरिएको हो ।

सहयोगप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री डा. वाग्लेले विपद्को समयमा गरिएको सहयोगको उच्च कदर गर्दै रकम सही ठाउँमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देश निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँदै विपद्मा परेका नागरिकको शीघ्र उद्धार तथा पुनःस्थापना सफल हुने विश्वास व्यक्त गरे ।