पोखरा । पहिलो एसटी स्नुकर टुर्नामेन्टको उपाधि एम बहादुर गौतम (गौतम साइकल) ले जितेका छन् । मंगलबार पोखराको बगाले टोलस्थित एसटी स्नुकर हाउसमा भएको फाइनलमा धर्मेन्द्र घर्तीलाई पराजित गर्दै गौतमले प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो नाममा गरेका हुन् ।
प्रतियोगिताको उपाधिका लागि गौतम र धर्मेन्द्रबीच बेस्ट अफ सेभेनको आधारमा प्रतिस्पर्धा भएको थियो । विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेलाडी फाइनलमा पुगेका थिए । प्रतिस्पर्धात्मक फाइनलमा धर्मेन्द्रलाई पछि पार्दै गौतमले उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा पोल ए, बी, सी र डी गरी चार समूहमा विभाजन गरेर कुल ४० खेलाडी सहभागी गराइएको थियो । सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा गौतमले लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए ।
स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्नुकर खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन सन्तोष रानाले गरेका हुन् ।
सञ्चालक रानाले युवा पुस्तामा स्नुकर खेलप्रतिको आकर्षण बढ्दै गएकाले खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । पहिलो संस्करणबाट प्राप्त अनुभव, खेलाडीको सहभागिता र दर्शकको उत्साहले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र ठूलो स्तरमा सञ्चालन गर्न प्रेरणा मिलेको उनले बताए ।
पुरस्कार वितरण कार्यक्रममा सेभेन ए साईड अन्तर्राष्ट्रिय रेफ्री सुशील केसी, लायन्स क्लब ३२५ बि का वसन्त गिरी, समाजसेवी कुशल थापा लगायतको उपस्थिति रहेको थियो ।
रानाले प्रतियोगिता सफल बनाउन खेलाडी, दर्शक तथा शुभेच्छुकबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताए । पहिलो एसटी स्नुकर टुर्नामेन्टको उपाधि जितेसँगै गौतमले प्रतियोगिताको पहिलो विजेताका रूपमा आफ्नो नाम दर्ज गरेका छन् ।