पोखरा । MAW Vriddhi Autocorp Pvt. Ltd. ले चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट SUV NEVO Q05 पोखरामा सार्वजनिक गरेको छ। Q05 को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सार्वजनिकपछि पोखरा–चाउथेस्थित डीपल शोरुममा असोज ३ देखि ६ गतेसम्म चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
Q05 को औपचारिक सार्वजनिक कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा NADA का पूर्व अध्यक्ष ध्रुब थापा, WADA का उपाध्यक्ष निरन केसीलगायतको उपस्थिति थियो।
कम्पनीका अनुसार Q05 मा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्ने दाबी गरिएको छ। WLTPC परीक्षणअनुसार यसको ड्राइभिङ रेन्ज ४०५ किलोमिटर रहेको र ऊर्जा खपत १२.९ किलोवाट–घण्टा प्रतिकिलोमिटर रहेको कम्पनीले जनाएको छ।
Q05 मा CATL सेलसहितको Changan Golden Shield Battery 2.0 प्रविधि प्रयोग गरिएको छ। 3C फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्री ३० देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।
कम्पनीका अनुसार गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस Apple CarPlay र Android Auto, ड्राइभर–असिस्टेन्स फङ्सन तथा ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टमजस्ता सुविधा छन्। २,७३५ मिलिमिटरको ह्वीलबेस, ५४० लिटरको बुट र विभिन्न स्टोरेज स्पेसले पारिवारिक प्रयोगलाई लक्षित गरेको कम्पनीको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले विद्युतीय सवारीमा प्रविधि, आराम र डिजाइनको महत्त्व बढ्दै गएको बताएका थिए। कम्पनीले चारदिने टेस्ट ड्राइभमार्फत ग्राहकलाई Q05 का सुविधा र सञ्चालन अनुभव प्रत्यक्ष रूपमा बुझ्ने अवसर उपलब्ध गराउने जनाएको छ।