जापानस्थित नेपाली राजदूतावास टोकियोले होक्काइडोको साप्पोरोमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरी घुम्ती राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने भएको छ । राजदूतावासले सन् २०२६ अक्टोबर ३१ र नोभेम्बर १ (२०८३ कात्तिक १४ र १५ गते) घुम्ती सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
राजदूतावासका अनुसार सेवा साप्पोरोस्थित साप्पोरोसी अत्सुबेत्सु कुमिन सेन्टर (Sapporoshi Atsubetsu Kumin Centre) मा सञ्चालन हुनेछ। दुवै दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा उपलब्ध हुने सूचनामा उल्लेख छ ।
घुम्ती सेवाअन्तर्गत राहदानीको म्याद सकिएको वा सन् २०२७ अक्टोबर ३१ सम्म म्याद रहने, राहदानी हराएको, चोरी भएको, नासिएको वा अन्य कारणले प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका नेपाली नागरिकले राहदानी नवीकरण तथा नयाँ राहदानीका लागि आवेदन दिन सक्नेछन्। जापानमा जन्मिएका नेपाली नागरिकका सन्ततिका लागि पहिलोपटक राहदानी बनाउने सेवासमेत उपलब्ध हुनेछ ।
राजदूतावासले अक्टोबर १६ देखि राहदानी सेवाका लागि अनलाइन प्रि-इन्रोलमेन्ट बुकिङ खुला गर्ने जनाएको छ। इच्छुक सेवाग्राहीले राजदूतावासको वेबसाइटमार्फत समय लिएर अक्टोबर ३१ वा नोभेम्बर १ मध्ये कुनै एक दिनको सेवा लिनुपर्नेछ। टोकियोस्थित राजदूतावासबाट अक्टोबर ३१ र नोभेम्बर १ बाहेकका मिति छनोट गरी भरिएका फाराम स्वीकृत नहुने पनि सूचनामा उल्लेख छ ।
घुम्ती सेवाका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
राजन गिरी (आसाहिकावा) 090-2812-7646
रामु गिरी (साप्पोरो) 080-3237-2488
रोशन निरौला (साप्पोरो) 080-4500-7664
ध्रुव गिरी (एनिवा) 070-1295-1468
विकास गिरी (तेदैनोआत्सु) 080-4047-7646
राहदानीबाहेक यात्रा अनुमतिपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवा आवश्यक पर्ने व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
राजदूतावासले आवश्यक सेवा लिन इच्छुक नेपाली नागरिकलाई निर्धारित समयमै अनलाइन बुकिङ गरी सेवा लिन अनुरोध गरेको छ ।