पोखरा । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको पूर्वसन्ध्यामा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
रविन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय नेता राजीव पहारी, प्रदेश कमिटी सदस्य अञ्जु केसी, जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य तथा वडा कमिटी ५ का इन्चार्ज उज्ज्वल खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीका शुभेच्छुक, स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताए। उनले यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
बरालले स्थानीयस्तरमा विकास, सामाजिक सेवा र जनहितका गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै स्थानीय नागरिकका आवश्यकता र समस्यासँग जोडिएर काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले आसन्न चाडपर्वका अवसरमा एकअर्कालाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । कार्यक्रम आत्मीय वातावरणमा शुभकामना आदान–प्रदान तथा चियापानसँगै सम्पन्न भएको आयोजकले जनाएको छ ।