पोखरा । निर्वाचन आयोगले संवैधानिक दायित्वअनुसार स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विशेष परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते आज बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म देशभर मतदान हुदैछ ।
मतदान तयारीका क्रममा केही दुःखद घटनासमेत भएका छन् । रोल्पामा निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी साधन दुर्घटनामा पर्दा एक सुरक्षाकर्मी तथा एक मतदान अधिकृतको निधन भएको छ । त्यसैगरी सल्यान र सुर्खेतमा कार्यक्षेत्रमै खटिएका मतदान अधिकृत तथा कञ्चनपुरमा खटिएका एक निर्वाचन प्रहरीको समेत निधन भएको आयोगले जनाएको छ । निधन भएकाप्रति आयोगले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।
आयोगले निर्वाचनलाई केवल सरकार गठन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा व्याख्या गरेको छ । मतदान नागरिकको अधिकार मात्र नभई दायित्वसमेत भएको उल्लेख गर्दै आयोगले लोकतन्त्र सुदृढीकरणका लागि सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अपिल गरेको छ ।
निर्वाचन प्रक्रियामार्फत नागरिकले नीति, नेतृत्व र शासन प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर प्राप्त गर्ने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउन आयोगले आग्रह गरेको छ।