युवा ऊर्जा: परिवर्तनको आवाज मात्र होइन, राष्ट्र निर्माणको शक्ति हो

युवा केवल उमेरको एउटा चरण होइन, यो सम्भावना, साहस, सपना र परिवर्तनको शक्ति हो । युवामा रहेको ऊर्जा सही दिशामा परिचालन गर्न सकियो भने त्यसले व्यक्ति, समाज हुँदै सिंगो राष्ट्रको भविष्य बदल्न सक्छ। यही कारण विश्वभर युवाको भूमिका, अधिकार, सम्भावना र चुनौतीबारे बहस गर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा म एउटा युवाका रूपमा आफूभित्रको ऊर्जा, आफ्नो अनुभव र देशप्रतिको जिम्मेवारीबारे केही कुरा राख्न चाहन्छु ।

म आफूलाई भाग्यमानी ठान्छु कि सानै उमेरदेखि नै देश–समाजका गतिविधिप्रति चासो राख्ने अवसर पाएँ । समाचार सुन्ने, देशमा के भइरहेको छ भनेर बुझ्ने, समसामयिक विषयमा बहस गर्ने र समाजमा देखिएका समस्याबारे सोच्ने बानी बाल्यकालदेखि नै विकास भयो । उमेर सानै भए पनि समाज र समुदायका गतिविधिमा सहभागी हुने रुचि थियो। विभिन्न सामाजिक तथा सामुदायिक संस्थासँग जोडिएर समाजसेवा र सामाजिक विकासका गतिविधिमा सक्रिय हुने अवसर पनि पाएँ ।

सायद त्यही अनुभवले आज युवा अवस्थासम्म आइपुग्दा मभित्रको ऊर्जा अझ बलियो बनाएको छ। विगतमा समाजका लागि केही गर्ने प्रयास गरेँ, आज त्यसलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने चाहना छ। मेरो विश्वास छ- युवाको ऊर्जा केवल आफूलाई सफल बनाउन होइन, समाज र राष्ट्रलाई अघि बढाउन प्रयोग हुनुपर्छ।

युवा: देशको वर्तमान शक्ति र भविष्यको आधार

हामी प्रायः भन्छौँ- ‘युवा देशको मेरुदण्ड हुन् ।’ यो केवल भाषणमा दोहोर्याइने एउटा वाक्य होइन, राष्ट्रको विकाससँग प्रत्यक्ष जोडिएको यथार्थ हो ।

देश निर्माणका लागि ज्ञान चाहिन्छ, सीप चाहिन्छ, श्रम चाहिन्छ, सिर्जनशीलता चाहिन्छ र जोखिम उठाउने साहस चाहिन्छ । यी सबै गुण युवामा पर्याप्त मात्रामा हुन्छन् । नयाँ प्रविधि सिक्ने क्षमता, नयाँ सोच स्वीकार गर्ने तत्परता र पुराना समस्याको नयाँ समाधान खोज्ने उत्साह युवाको विशेषता हो ।

त्यसैले आजको एक्काइसौँ शताब्दीमा युवाहरू केवल रोजगारी खोज्ने पुस्ता भएर सीमित हुनु हुँदैन। हामी अवसर सिर्जना गर्ने, प्रश्न गर्ने, समाधान खोज्ने र परिवर्तनको नेतृत्व गर्ने पुस्ता बन्नुपर्छ ।

सरकारले के गर्दैछ ? सार्वजनिक स्रोत कसरी प्रयोग भइरहेको छ ? विकासका नाममा भएका योजना प्रभावकारी छन् कि छैनन् ? नागरिकले पाउनुपर्ने सेवा सहज रूपमा पाइरहेका छन् कि छैनन्रु कुनै निकायमा अनियमितता भइरहेको छ कि छैनरु यस्ता प्रश्नमा युवाको चासो हुनुपर्छ ।

लोकतन्त्रमा नागरिकको भूमिका मतदान गरेर मात्र समाप्त हुँदैन । नागरिकले राज्यका कामकारबाहीबारे प्रश्न गर्नुपर्छ, सूचना माग्नुपर्छ, पारदर्शिता खोज्नुपर्छ र गलत कामप्रति खबरदारी गर्नुपर्छ। यसमा युवा पुस्ताको भूमिका अझ महत्वपूर्ण हुन्छ ।

प्रश्न गर्ने युवा, जिम्मेवार राज्य

हाम्रो देशले लामो समयदेखि भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, कमजोर सार्वजनिक सेवा र प्रशासनिक जटिलताजस्ता समस्यासँग संघर्ष गर्दै आएको छ । यस्ता समस्याले विकासको गति सुस्त बनाउनुका साथै राज्यप्रतिको नागरिकको विश्वासमा समेत प्रश्न उठाएको छ ।

अवसरको अभाव, रोजगारीको समस्या र भविष्यप्रतिको अनिश्चितताका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य छन्। गाउँका खेतबारीदेखि शहरका सडकसम्म युवाको अभाव महसुस गर्न सकिन्छ। देशमा उत्पादन गर्ने हातहरू विदेशमा श्रम गरिरहेका छन् भने परिवारहरू उनीहरूले पठाएको विप्रेषणमा निर्भर छन्।

यो अवस्था केवल युवाको समस्या होइन, राष्ट्रकै चुनौती हो ।

तर समस्या देखाएर मात्र समाधान हुँदैन । अहिले देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासको नयाँ आशा निर्माण गर्ने प्रयास भइरहेका छन् । सरकारले विगतका कमजोरीबाट पाठ सिक्दै भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न, सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन र युवाका लागि स्वदेशमै रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्न विशेष ध्यान दिन आवश्यक छ ।

तर यहाँ एउटा कुरा स्पष्ट छ—सरकार मात्र परिवर्तन भएर देश परिवर्तन हुँदैन। सरकारसँगै नागरिकको सोच, व्यवहार र जिम्मेवारी पनि परिवर्तन हुनुपर्छ।

युवाले सरकारसँग प्रश्न गर्नुपर्छ, तर आफू पनि जिम्मेवार नागरिक बन्नुपर्छ । अधिकार माग्नुपर्छ, तर कर्तव्य पनि पूरा गर्नुपर्छ। गलत कामको विरोध गर्नुपर्छ, तर आफूले गलत काम नगर्ने प्रतिबद्धता पनि गर्नुपर्छ ।

विदेशिएको युवालाई फर्काउने वातावरण

आज हजारौँ होइन, लाखौँ नेपाली युवा रोजगारी र अवसरको खोजीमा विदेशमा छन्। उनीहरूमध्ये धेरैको मनमा आफ्नै देशमा केही गर्ने इच्छा छ। तर इच्छा भएर मात्र हुँदैन, त्यसका लागि वातावरण चाहिन्छ ।

यदि नेपालमा गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, उद्यमशीलताको अवसर, लगानीको सुरक्षित वातावरण, प्रविधिको पहुँच र राज्यको पारदर्शी नीति निर्माण गर्न सकियो भने विदेशमा रहेका नेपाली युवाको ज्ञान, सीप र अनुभव देशभित्र फर्काउन सकिन्छ ।

विदेशमा सिकेको सीप र प्रविधि नेपालमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। युवाले विदेशमा कमाएको पैसा मात्र होइन, त्यहाँ सिकेको ज्ञान, व्यवस्थापन क्षमता, प्रविधि र अनुभव पनि देशमा ल्याउने वातावरण बन्नुपर्छ ।

त्यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र युवा स्वयंबीच सहकार्य आवश्यक छ ।

परिवर्तन पर्खिने होइन, परिवर्तन गर्ने समय

देश विकासको जिम्मेवारी सरकारको मात्र हो भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ। देश हामी सबैको हो। त्यसैले यसको विकासमा योगदान गर्ने जिम्मेवारी पनि हामी सबैको हो ।

कसैले शिक्षाको क्षेत्रमा योगदान गर्न सक्छ। कसैले कृषि, पर्यटन, प्रविधि, स्वास्थ्य, उद्यम, सञ्चार, खेलकुद वा सामाजिक सेवामार्फत योगदान गर्न सक्छ। कसैले एउटा गाउँको समस्या समाधान गर्न सक्छ भने कसैले एउटा नयाँ व्यवसाय सुरु गरेर रोजगारी सिर्जना गर्न सक्छ ।

ठूलो परिवर्तन सधैँ ठूलै कामबाट सुरु हुन्छ भन्ने छैन। कहिलेकाहीँ एउटा सानो सकारात्मक प्रयासले पनि ठूलो परिवर्तनको आधार तयार गर्छ ।

त्यसैले युवाले अवसरको प्रतीक्षा मात्र गर्नु हुँदैन । अवसर नभए सिर्जना गर्नुपर्छ, समस्या देखिए समाधान खोज्नुपर्छ र परिवर्तन चाहियो भने आफैँबाट सुरु गर्नुपर्छ ।

हामी युवाहरू नै देशको वर्तमान शक्ति हौँ र भविष्यको आधार पनि। यदि हामीसँग भएको ज्ञान, सीप, श्रम र ऊर्जालाई राष्ट्र निर्माणमा प्रयोग गर्न सकेनौँ भने विकास र समृद्धिको सपना कसरी पूरा होला ?

प्रश्न यही हो- देश बनाउने जिम्मेवारी कस्को ?

उत्तर पनि स्पष्ट छ- हामी सबैको । र त्यसमा युवाको भूमिका सबैभन्दा महत्वपूर्ण छ ।

युवा ऊर्जा सही दिशामा

नेपालको इतिहास हेर्दा ठूला राजनीतिक, सामाजिक र सामुदायिक परिवर्तनका अभियानमा युवाको सहभागिता सधैँ अग्रपंक्तिमा देखिन्छ। आन्दोलन होस्, सामाजिक सेवा होस्, विपद्मा उद्धार होस् वा समुदाय निर्माणको अभियान, युवाको उपस्थिति र नेतृत्व उल्लेखनीय रहँदै आएको छ ।

तर अब युवाको जोश र ऊर्जा केवल विरोध र आन्दोलनमा सीमित हुनु हुँदैन । परिवर्तनको आवाज उठाउनु आवश्यक छ, तर त्यो परिवर्तनलाई व्यवहारमा उतार्नु अझ आवश्यक छ ।

हामीले अब यस्तो युवा शक्ति निर्माण गर्नुपर्छ, जसले प्रश्न पनि गर्छ र समाधान पनि दिन्छस आलोचना पनि गर्छ र जिम्मेवारी पनि लिन्छस अधिकार पनि खोज्छ र कर्तव्य पनि पूरा गर्छ ।

युवाको ऊर्जा सही दिशामा बग्यो भने त्यो नदीजस्तै विकासको शक्ति बन्न सक्छस गलत दिशामा बग्यो भने त्यही ऊर्जा विनाशको कारण पनि बन्न सक्छ । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता युवाको ऊर्जालाई सही दिशामा परिचालन गर्नु हो ।

अन्तर्राष्ट्रिय युवा दिवस केवल शुभकामना आदानप्रदान गर्ने दिन मात्र नबनोस् । यो दिन हामी सबै युवाले आफूलाई एउटा प्रश्न गरौँ—‘मैले आफ्नो देशका लागि के गर्न सक्छुरु’

उत्तर ठूलो हुनुपर्दैन । आफ्नो ठाउँबाट सुरु गरे पुग्छ ।

कसैले इमानदारीपूर्वक आफ्नो काम गरौँ। कसैले नयाँ सीप सिकौँ । कसैले रोजगारी सिर्जना गरौँ। कसैले समाजमा चेतना फैलाऔँ । कसैले भ्रष्टाचारविरुद्ध आवाज उठाऔँ । कसैले वातावरण जोगाऔँ । कसैले गाउँमा उद्यम सुरु गरौँ । कसैले विदेशमा सिकेको सीप देशमा ल्याऔँ ।

किनकि राष्ट्र निर्माण अरू कसैले गरिदिने परियोजना होइन। राष्ट्र निर्माण हामीले गर्ने साझा अभियान हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण नेपाली युवालाई एकजुट भएर देशको विकास, सुशासन र समृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन हार्दिक आह्वान गर्दछु ।

हामी निराश हुने पुस्ता होइनौँ। हामी सम्भावना बोकेको पुस्ता हौँ। हामी समस्या गन्ने मात्र होइन, समाधान खोज्ने पुस्ता बन्नुपर्छ ।

युवाको एकता, ऊर्जा, सीप र प्रतिबद्धताले नै समृद्ध नेपालको आधार निर्माण गर्न सक्छ ।

जय देश !
जय युवा !
हामीले नै देश बनाउनुपर्छ ।

सम्पूर्ण युवाहरूमा २६औँ अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को हार्दिक शुभकामना ।

युवराज पौडेल, २४
शुक्लागण्डकी–८, तनहुँ