म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा हरेक वर्ष जेठको उजेली मंगलबारमा भूमेपूजा मनाउने चलन छ । तर यस वर्ष जेठमा मलमास परेकाले मंगलबार मनाइएको छ । प्रकृतिसँगको सम्बन्ध, सामुदायिक एकता र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानको उत्सव हो भुमे पूजा । मगर समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो ।
भूमिलाई जीवनदाता र प्रकृतिलाई संरक्षण गर्ने शक्तिका रुपमा मान्दै गाउँ, खेतीपाती, वनजंगल, पशुधन र मानव जीवनको रक्षा होस् भन्ने कामनासहित पूजा गर्ने चलन रहेको नारच्याङका पूर्ववडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । गाउँमा रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नआओस्, खेती राम्रो होस् र समुदायमा सुख–शान्ति कायम रहोस् भन्ने कामना गरिने उनको भनाइ छ ।
नारच्याङमा पनि यो परम्परा विशेष महत्वका साथ मनाइन्छ । पूजाको दिन स्थानीयवासी, गाउँका अगुवा र पूजारी एकत्रित हुन्छन् । बाजागाजासहित गाउँमाथीको नारच्याङ झरनामा पुगेर भूमिदेवी र प्रकृतिको आराधना गरिन्छ । मगर समुदायमा भूमेपूजा प्रकृतिलाई खुसी पार्ने र प्राकृतिक अनिष्टबाट जोगिने विश्वाससँग जोडिएको छ ।
आधुनिकता बढ्दै गए पनि गाउँलेलाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराखेको ७१ वर्षीय फगामीको भनाइ छ । ‘पूजापछि सामूहिक नाचगान, भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ । मगर भेषभूषा लगाएर सहभागी हन्छन् सबैजना, संस्कृती, भेषभुषाको संरक्षण भएको देख्दा आनन्द लाग्छ,’ उनले भने ।
घरमा महिनावारी, गर्भवती भएका छन् भने पूजामा सहभागी नगराउने चलन रहको उनले बताए । पूजा शुद्ध र विधिपूर्वक सम्पन्न भएमा गाउँमा असिना पानी नपर्ने, बाली सप्रने, प्राकतिक विपत्तिबाट जोगिने विश्वास रहको उनले जानकारी र्दि ।
उनका अनुसार पहिले भुमे पूजाको रौनक २ महिना अघिदेखि सुरु हुन्थ्यो । जाँड (छ्याङ) राख्नलाई हरेक घरबाट कुरिया (सदस्य) संख्याअनुसार त्यति माना कोदो उठाउने चलन थियो । भातका लागि पनि चामल जम्मा गरिन्थ्यो । पूजा सकेपछि साँझ भातको डल्ला बनाएर बाँडिन्थ्यो । उनले विगत सम्झिदै भने, ‘अहिले त्यस्तो चलन त हराउँदै गए तर भुमे पूजा भने अझै निरन्तर भइरहेको छ । परम्परा जोगिएको देख्दा खुसी लाग्छ ।’
पूजामा राँगाको बलि दिने चलन थियो । अहिले महंगो भएर बाख्राको बलि दिने प्रचलन रहेको उनले बताए । नारच्याङ झरनामा चिह्न र कृष्ण भुमे २ दाजुभाइको वास रहेको मानिन्छ । त्यसैले पूजामा दुई वटा बाख्रा चढाउनै पर्छ । भुमे पूजा हेर्नलाई बागलुङ, पर्वत, कास्कीबाट पनि आउँछन् । पूजामा आएकालाई प्रसाद दिइन्छ, प्रसादका रुपमा जाँड ९छ्याङ० खानै पर्छ ।
अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गको प्रवेशद्वारका रुपमा परिचित पर्यटनको दृष्टिले पनि नारच्याङ पछिल्लो समय चर्चामा छ ।